गगनको चेतावनी: ‘हतकडी लिएर आउनू, खाली हात जान्न’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राज्यका अनुसन्धान तथा सुरक्षा निकायलाई राजनीतिक प्रतिशोधको साधन नबनाउन सरकारलाई चेतावनी दिएका छन्। सरकारको आलोचना गर्नेहरूलाई विभिन्न बहानामा घेराबन्दी गर्ने प्रयास भइरहेको उनको आरोप छ।
मंगलबार पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै थापाले आफूलाई पक्राउ गर्ने हल्ला फैलाइएको भन्दै त्यसबाट आफू विचलित नहुने स्पष्ट पारे। उनले पक्राउ गर्न आउने हो भने हतकडीसहित आउन सरकारलाई चुनौती दिए।
राजाको शासनकालमा समेत राजद्रोहको मुद्दा खेपेको स्मरण गर्दै थापाले सत्ताको दबाब र धम्कीले आफूलाई प्रश्न गर्नबाट रोक्न नसक्ने बताए। माओवादी सशस्त्र द्वन्द्वकालदेखि ओली नेतृत्वको शक्तिशाली सरकारका पालासम्म आफूले निरन्तर सत्तालाई प्रश्न गर्दै आएको उनको भनाइ थियो।
उनले सामाजिक सञ्जालमार्फत भय र त्रास सिर्जना गरी कांग्रेस नेतृत्वलाई दबाबमा पार्ने प्रयास भइरहेको आरोप लगाए। सरकारसँग असहमति राखेकै आधारमा राजनीतिक मूल्य चुकाउनुपर्ने अवस्था आए पनि आफू पछि नहट्ने उनले बताए।
थापाले दोषीमाथि कानुनअनुसार कारबाही हुनुपर्नेमा कांग्रेसको समर्थन रहेको स्पष्ट पार्दै अनुसन्धान निष्पक्ष हुनुपर्नेमा जोड दिए। सत्ता निकट व्यक्तिलाई उन्मुक्ति दिने र विपक्षीलाई मात्रै निशाना बनाउने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ छ।
विगतका कमजोरीबारे भइरहेको अनुसन्धानमा कांग्रेसले अवरोध नगर्ने बताउँदै उनले राज्यका निकायलाई राजनीतिक प्रतिशोधका लागि प्रयोग गरिए त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिए।
सरकारका राम्रा काममा सहयोग गर्ने तर गलत काममा निरन्तर प्रश्न उठाउने कांग्रेसको नीति रहेको उल्लेख गर्दै थापाले दबाब र धम्कीबाट पार्टीको आलोचनात्मक भूमिका कमजोर नबनाइने स्पष्ट पारे।