अर्थबीमा

बीमितका समस्या थुप्रिँदै, तीन महिनामा ९४ उजुरी मात्रै टुंगिए

बीमा गराउँदा भविष्यमा आइपर्ने जोखिमबाट आर्थिक सुरक्षा पाइने अपेक्षा हुन्छ। तर, बीमा दाबी भुक्तानीदेखि सेवा सुविधासम्मका विषयमा बीमित र बीमा कम्पनीबीच विवाद उत्पन्न हुने क्रम रोकिएको छैन। यस्ता विवाद समाधानका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणमा पुग्ने उजुरीमध्ये ठूलो हिस्सा अझै निरूपण हुन सकेको छैन।

प्राधिकरणमा चालू आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म २९९ वटा उजुरी विचाराधीन अवस्थामा छन्। तीन महिनाको अवधिमा कुल ३९३ वटा उजुरी कारबाहीको प्रक्रियामा रहेकामा ९४ वटा मात्रै फर्छ्यौट भएका छन्। यसले बीमितका गुनासा सम्बोधन गर्ने प्रक्रियामा अझै चुनौती रहेको देखाउँछ।

प्राधिकरणको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ७४ वटा नयाँ उजुरी थपिएका छन्। तीमध्ये ५४ वटा केन्द्रीय कार्यालयमा र २० वटा प्रदेश कार्यालयमा दर्ता भएका हुन्। नयाँ उजुरीसँगै अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ३१९ वटा उजुरीसमेत जोड्दा कुल संख्या ३९३ पुगेको थियो।

उजुरीको संख्या मात्रै होइन, तिनको निरूपण गर्ने गतिमा पनि अघिल्लो वर्षको तुलनामा अन्तर देखिएको छ। गत आर्थिक वर्ष २०८२र८३ को असोज मसान्तसम्म प्राधिकरणमा २०६ वटा नयाँ उजुरी दर्ता भएका थिए। त्यसबेला अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ३९४ वटा उजुरीसमेत जोड्दा कुल ६०० वटा उजुरी कारबाहीको प्रक्रियामा थिए।

अघिल्लो वर्षको तुलनामा यस वर्ष नयाँ उजुरी दर्ता हुने संख्या घटेको छ। तर, उजुरी फर्छ्यौटको अवस्था पनि कमजोर देखिएको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा २८१ वटा उजुरी टुंग्याइएको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा ९४ वटा मात्रै फर्छ्यौट भएका छन्।

यस वर्ष फर्छ्यौट भएका उजुरीमध्ये ७५ वटाको निर्णय फैसलामार्फत भएको छ। बाँकी १९ वटा उजुरी भने सम्बन्धित पक्षबीचको आपसी सहमति र सम्झौताबाट समाधान भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा २०४ वटा उजुरी फैसलामार्फत र ७७ वटा सहमतिबाट टुंग्याइएको थियो।

बीमा कम्पनीबाट दाबी भुक्तानी पाउन ढिलाइ हुनु, बीमितले माग गरेको दाबी रकम कम्पनीले अस्वीकार गर्नु, दाबी भुक्तानीमा देखिने असहमति तथा सेवा प्रवाहप्रति चित्त नबुझ्नुलगायतका विषय उजुरीका प्रमुख कारण बन्ने गरेका छन्। बीमा गर्दा कम्पनीले दिने आश्वासन र दाबी भुक्तानीको समयमा देखिने व्यवहारबीच असन्तुष्टि उत्पन्न हुँदा बीमितहरू नियामक निकायसम्म पुग्ने गरेका छन्।

बीमा क्षेत्रको विश्वसनीयता कायम राख्न दाबी भुक्तानीलाई पारदर्शी र समयमै सम्पन्न गर्नु महत्वपूर्ण मानिन्छ। बीमितले प्रिमियम तिर्दा पाउने सुरक्षाको प्रत्याभूति दाबी गर्ने समयमा पनि महसुस गर्न पाउनुपर्छ। तर, विवाद समाधानका लागि प्राधिकरणसम्म पुग्नुपर्ने र त्यहाँ पुगेका उजुरीसमेत लामो समय विचाराधीन रहनुले बीमितलाई थप झन्झट हुने अवस्था सिर्जना गर्न सक्छ।

नयाँ उजुरी घट्नु सकारात्मक संकेत भए पनि पुराना उजुरीको निरूपण र सेवा प्रवाहमा देखिएका समस्या समाधान गर्नु उत्तिकै आवश्यक छ। प्राधिकरणले उजुरीको प्रकृतिअनुसार छिटो छानबिन, प्रभावकारी मध्यस्थता र निष्पक्ष निर्णय प्रक्रियालाई प्राथमिकता दिन सके बीमितको विश्वास बढाउन सहयोग पुग्नेछ। बीमा क्षेत्र विस्तार हुँदै जाँदा कम्पनीहरूको जिम्मेवारी पनि बढ्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button