कानूनमन्त्री गौतम र साउदी राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालस्थित साउदी अरेबिया अधिराज्यका राजदूत His Excellency Mr. Fahd Mohammad A Mnikhr ले शिष्टाचार भेट गरेकी छन ।
सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मंगलबार भएको भेटमा नेपाल र साउदी अरेबियाबीच हुन लागेको श्रमसम्बन्धी द्विपक्षीय सहमतिका विषयमा छलफल भएको थियो।
भेटका क्रममा मन्त्री गौतमले साउदी अरेबियामा कार्यरत नेपाली कामदारका लागि सहज र सुरक्षित वातावरण निर्माण गर्न द्विपक्षीय सहमति आवश्यक रहेको बताइन ।
मन्त्री गौतमले साउदी अरेबियामा रोजगारीका लागि सञ्चालन भइरहेको सीप जाँचबुझ कार्यक्रम (Skill Verification Program–SVP) का बारेमा पनि जानकारी लिएकी थिइन ।
त्यसैगरी, मन्त्री गौतमले नेपालमा आयोजना हुन लागेको ‘नेपाल पूर्वाधार सम्मेलन, २०२६’ को तयारीबारे उल्लेख गरेकी थिइन। उक्त सम्मेलन लगानीकर्ताका लागि राम्रो अवसर हुने विषयमा पनि सकारात्मक छलफल भएको थियो।
भेटका क्रममा मन्त्री गौतमले पारस्परिक कानूनी सहायता तथा न्याय क्षेत्रको वृत्तिविकास अभिवृद्धिका लागि कानून, न्याय र संसदीय मामिलाका विषयमा साउदी अरेबिया सरकारसँग सहकार्य गर्न नेपाल खुला रहेको सन्देश दिइन ।