अन्तर्वार्ता: प्रतिबद्धताअनुसारको साढे १२ खर्ब लगानी प्राप्त हुनेमा विश्वस्त छौँ– सुशील भट्ट

काठमाडौँ, २२ भदौ । लगानी बोर्डले आज आफ्नो १२औँ वार्षिकोत्सव मनाउँदैछ । लगानी बोर्ड ऐन, २०६८ को व्यवस्थाअनुसार गठित यो संयन्त्रले मुख्यगरी पूर्वाधार निर्माणका क्षेत्रमा सार्वजनिक–निजी साझेदारी अवधारणा ९पिपिपी मोडल० को लगानी परिचालन र त्यसको व्यवस्थापनको काम गर्दै आएको छ । स्वदेशी तथा विदेशी र निजी क्षेत्रको लगानी भित्र्याउने,  परिचालन गर्ने सहजकर्ताको भूमिका पनि लगानी बोर्डको हो । त्यस्तै, लगानी नीतितर्जुमा, लगानीका क्षेत्र पहिचान, लगानी स्वीकृति, परियोजना कार्यान्वयन, कार्यप्रगति अनुगमनलगायतका काम यो निकायले गरिरहेको छ । ‘आर्थिक रुपान्तरणका लागि साझेदारी’ भन्ने मुख्य अभिप्राय साथ स्थापित लगानी बोर्डको कार्यालयले पछिल्लो १२ वर्षमा हासिल गरेका उपलब्धि, भोगेका चुनौती, अहिलेको अवस्था र भावी रणनीतिलगायत विषयमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टसँग राससका समाचारदाता हेमन्त जोशीले गरेको कुराकानीको सम्पादित अंश :

लगानी बोर्ड स्थापना भएको १२ वर्ष भयो । बोर्ड स्थापना गर्दा राखेका लक्ष्य, उद्देश्यअनुरुप काम भएको छ कि छैन ? यो अवधिलाई कसरी समीक्षा गर्नुहुन्छ ?

मुलुकको आर्थिक सामाजिक रूपान्तरणका लागि ठूला पूर्वाधार र उत्पादन परियोजनामा सार्वजनिक–निजी साझेदारी अवधारणामा लगानी आकर्षित गर्ने अभिप्रायले लगानी बोर्डको स्थापना भएको हो । विकासको लक्ष्य परिपूर्ति गर्न अरु देशले थालेका असल अभ्यास हेरेर हामीकहाँ पनि यस्तो निकायको आवश्यकता बोध भएको बुझ्न सकिन्छ । स्वदेशी तथा विदेशी निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्दै विकास आवश्यकता पूरा गर्न परियोजना विकासका सबै चरणमा जोडिने गरी लगानी बोर्डले जिम्मेवारी पाएको छ । सुरुआतमा लगानी बोर्ड ऐन, २०६८ बाट स्थापित बोर्डलाई समयानुकुल सुदृढ पार्दै लैजाने अभिप्रायले सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ र सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ जारी गरियो । उक्त ऐनले लगानी बोर्ड ऐनलाई प्रतिस्थापन गर्यो । पछिल्लो कानुनी व्यवस्थाले लगानी बोर्डलाई मुख्यगरी लगानी प्रवद्र्धन गर्ने र सार्वजनिक–निजी साझेदारी अवधारणामा परियोजना कार्यान्वयन गर्ने निकायका रूपमा जिम्मेवारी दिएको छ । 

सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐनले बोर्डलाई रू छ अर्बभन्दा माथिको लगानी भएका गैरऊर्जा परियोजना र दुई सय मेगावाटभन्दा बढी उत्पादन क्षमता भएका ऊर्जा परियोजाहरूको लगानी स्वीकृति साथै कार्यान्वयनमा सहजीकरण गर्ने अधिकार दिएको छ । यस्ता परियोजना विकासका सम्पूर्ण चक्रको व्यवस्थापन बोर्डले गर्छ । लगानीका क्षेत्रको प्राथमिकता निर्धारण गर्ने, आयोजना छनोट गर्ने, ती आयोजनामा प्रतिस्पर्धा गराउन प्रस्ताव आह्वान गर्ने, त्यसको मूल्याङ्कन तथा छनौट र सम्झौतालगायतका काम पर्दछन् । 

No Article rating
0 Reviews
तपाइलाइ यो पोस्ट पढेर कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
  1. आक्रोशित
  2. उत्साहित
  3. अचम्मित
  4. दुःखी
  5. खुसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button