म्याग्दीमा सुन्तला बिक्रीबाट राम्रो आम्दानी

विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकका कारण अहिले धेरैजसो बाहिरका जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका छन् । सुन्तलाको राम्रो बगान भएका र व्यावसायिकरुपमा लागेका किसानले वार्षिक रु तीनदेखि आठ लाखसम्म आम्दानी गर्दै आएका छन् ।

यहाँका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर बेनी नगरपालिकाको राखु, मरेक, सुर्केमेला, घतान, मङ्गला गाउँपालिकाको बरङ्जा, भेडाबारी, अर्मन, मालिका गाउँपालिकाको रुन्मा, बिम, ओखरबोट, धवलागिरि गाउँपालिकाको ताकम, रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेग, दोवा र अन्नपूर्ण गाउँपालिकाको दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा सुन्तला बढी उत्पादन हुने गरेको छ । म्याग्दीमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् ।

म्याग्दीमा विशेषगरी सुन्तलाखेतीको रेखदेख र बिक्रीवितरणको जिम्मेवारी महिलाले लिएका छन् । यहाँका युवा अधिकांश विदेश भएकाले अरु खेतीपाती झैँ सुन्तलाखेती पनि महिलाकै कारण फस्टाएको र यसबाट भएको आम्दानीले महिला स्वावलम्बी बन्दै गएको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेकी मायादेवी पुनले बताउनुभयो ।

पुनले सुन्तला बिक्री गरेर राम्रो आम्दानी गरिरहेको बताउनुभयो । आफ्नो बगानमा रहेका सुन्तला र बिरुवा बिक्रीबाट वार्षिक रु ५० हजारदेखि डेढ लाखसम्म आम्दानी लिने गरेको उहाँको भनाइ छ । “मैले सुन्तला खेतीबाट राम्रो आम्दानी लिँदै आएकी छु”, कृषक पुनले भन्नुभयो, “व्यावसायिकरुपमा सुन्तला खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button