बालकुमारी घटनामा कहीँ न कहीँ कमजोरी भयो, समीक्षा गर्दैछौं : प्रधानमन्त्री

१४ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनामा सरकारको तर्फबाट कमजोरी भएको स्वीकार गरेका छन् ।

शनिबार काठमाडौंमा सुरु भएको छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन कार्यक्रममा उनले मन्त्रीको गाडी जल्नुमा र गोली चलाउनुमा सुरक्षा निकायबाट कमजोरी भएको बताएका हुन् ।

‘हाम्रो मन्त्रीजीको पीएसओ (निजी सुरक्षा अधिकारी) ले परिस्थितिको राम्रो आँकलन नगरीकन त्यो गाडी लिएर जाने प्रक्रियामा गम्भीर त्रुटी भएको महसुस गरेर उहाँलाई निलम्बन गर्ने निर्णय गरिएको छ । अनि, त्यसैगरी गोली चलाउन आदेश दिनेमा पनि त्रुटीपूर्ण ठानेर गोली चलाउन आदेश दिने अधिकारीलाई पनि छानबिनको रिपोर्ट नआउँदासम्म निलम्बन गरिएको छ’, उनले भने ।

पानी जहाज बनाउने कामको लागि कोरियाली भाषा परीक्षा दिँदा फेल भएकाहरुले उत्पादनमूलक कामको भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग राख्दै गरेको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button