समस्या ग्रस्त तुलसी सहकारीका बचतकर्ताले पाउन थाले बचत फिर्ता, ६ सय ४२ जनालाई ३ करोड ७५ लाख फिर्ता

समस्या ग्रस्त तुलसी बहुमुखी सहकारी संस्थाका बचत कर्ताले धमाधम बचत रकम फिर्ता पाउन थालेका छन् । सहकारीका सञ्चालक जेल चलान भएपछि भगवान् दाहालले बचतकर्तालाई बचत रकम फिर्ता गराउन थालेका हुन ।
विराटनगर केन्द्रीय कार्यालय रहेको तुलसी बहुमुखी सहकारी संस्थाको कोसी प्रदेश र मधेस प्रदेशका अन्तर्गत मोरङका विराटनगर, लेटाङ, झापाको दमक, सिराहाको गोल बजार उदयपुरको गाईघाटका शाखाका बचत तथा सेयर धनीलाई बचत रकम फिर्ता गर्नु पर्ने दायित्व १ अर्ब ४८ करोड रहेको छ । जसमा दमक को ५२ करोड, विराटनगर को ६२ करोड, गाईघाटको २४ करोड, गोल बजारको २ करोड र लेट्टाङको १ करोड ८०लाख बचतकर्ताको बचत रकम फिर्ता गर्नु पर्ने छ ।

बचत कर्ताको बचत फिर्ता गराउने क्रममा भगवान् दाहालले लेटाङका सम्पूर्ण बचत कर्ताको बचत रकम फिर्ता गराइ सकेका छन् भने दमक शाखामा बचत कर्ताको बचत रकम फिर्ता गराइरहेका छन् ।
पहिलो चरणमा सबै शाखाका बचतकर्ताको बचत क्लियर गरेपछि सरकारको निर्णय अनुसार दोस्रो चरणमा शेयर लगानीका सम्बन्धमा अघि बढने भगवान् दाहालले बताए । दाहालका अनुसार १ अर्ब ४८ करोड मध्ये ७ करोड ८० रकम शेयर लगानी रहेको छ । यो रकम दोस्रो चरणमा सरकारको निर्णय आएपछि प्रक्रियागत रूपमा जाने दाहाल बताउँछन् । दाहालका अनुसार बचतकर्ताको बचत रकम फिर्ता गराउन सुरु गरेका छौ पहिलो चरणमा लेटाङ शाखामा रहेका बचतकर्ताहरूको सम्पूर्ण रकम फिर्ता गरिसकेर अहिले दमक शाखाका बचतकर्ताको बचत रकम फिर्ता धमाधम बचत रकम फिर्ता गराइरहेका छौ ।

दमक शाखाका सम्पूर्ण बचतकर्ताको रकम फिर्ता गर्ने काम सकेपछि हामी अर्को शाखामा प्रवेश गर्ने छौ दाहालले बताए । दाहालका अनुसार हालसम्म लेटाङ र झापाको दमकका केही बचतकर्ता गरी जम्मा ६ सय ४२ जना बचत कर्तालाई ३ करोड ७५ लाख रकम फिर्ता गरिसकेको जनाएका छन् । दाहाल भन्छन् यो सुरुवाती हो क्रमैसङ अन्य शाखाका बचत कर्ताको रकम पनि फिर्ता गराउँदै जानेछौ ।

सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई अदालत जिल्ला अदालत मोरङले लगानी कर्ताको १ अर्ब ४५ करोड ५९ लाख रकम फिर्ता गर्नु फैसला सुनाएपछि उक्त रकम फिर्ता गर्न भगवान् दाहाल अगाडि बढेका हुन । दाहालले एक लाख भन्दा मुनीका बचत कर्तालाई जिन्सी सामाग्री दिएर बचत फिर्ता गराएका छन् भने एक लाख भन्दा माथिका बचत कर्ता तथा शेयर धनीलाई जग्गा दिएर बचत फिर्ता गरिरहेका छन् ।

तुलसी सहकारीका विराटनगर, लेटाङ, दमक, गाईघाट, र गोल बजारका शाखा कार्यालय मार्फत २१ हजार १ सय ५४ जना बचतकर्ताको एक अर्ब ४८ करोड बचत अपचलन गरेको आरोपमा अध्यक्ष शर्मासहित ८ जनाविरुद्ध २०७९ साल चैत १२ गते मोरङ अदालतमा ‘सहकारी संस्थाको रकम हिनामिना गरेको’ कसुर मा सहकारीका अध्यक्ष केदारनाथ शर्मा , सचिव सविना न्यौपाने र प्रबन्धक सन्दीप खवासलाई अदालतले जेल सजाए तोकी उनीहरू हाल जेल जीवन बिताइरहेका छन् ।

अध्यक्ष लगायतले सहकारीको रकम अपचलन गरेको ठहर गर्दै जिल्ला अदालत मोरङले २०८२ साल जेठ २२ गते मुद्दाको फैसला सुनाएको थियो । फैसलामा शर्मालाई ६ वर्ष कैद , सहकारी सचिव तथा शर्माकी पूर्व पत्नी सविना न्यौपानेलाई २ वर्ष २ महिना कैद एवं प्रबन्धक खवासलाई पनि २ वर्ष २ महिना नै कैद सजाय तोकेको थियो ।

फैसलामा जिल्ला अदालत मोरङले सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई ६७ करोड ५९ लाख २१ हजार २६८ रुपैयाँ बिगो फैसला सुनाएको थियो । शर्मालाई ६७ करोड ५९ लाख २१ हजार २६८ रुपैयाँ नै बुझाउनु पर्ने र २ करोड ७० लाख ३६ हजार ८५० रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न पनि फैसला सुनाएको थियो । शर्माले जम्मा १ अर्ब ४८ करोड रकम फिर्ता गर्नु पर्ने अदालतको पैmसला अनुसार उक्त रकम फिर्ता गराउन अहिले भगवान् दाहाल अगाडी बढेका हुन ।

बचत कर्ताको बचत फिर्ता गराउन सक्रिय रहेका दाहालले विभिन्न चुनौतीको सामना गर्नु परेको छ । बचतकर्ताको घेराबन्दीमा रहेका जोखिमपूर्ण कार्यमा दाहाल अघि बढी रहेका छन् ।
रकम फिर्ता गराउन दाहाललाई त्यति सजिलो पनि छैन । बचत कर्तालाई बचत गरेको र शेयर लगानी गरेको प्रमाण तथा कागजातका आधारमा दाहालले बचत फिर्ता गराउँदै आएका हुन । दाहाललाई शिखर ग्रुपले बचतकर्ताको बचत फिर्ता गराउन जिम्मेवारी दिएसङै धमाधम बचत फिर्ता गराउँदै आएका हुन ।

तुलसी बहुमुखी सहकारी संस्था शिखर अर्गनाइजेशनद्धारा सञ्चालन गरिएको हो । शिखर अर्गनाइजेशनद्धारा सञ्चालित शिव शिखर र तुलसी बहुमुखी सहकारी संस्थाद्वारा २३ वटा मार्ट सञ्चालनमा छन् । तर सहकारीका सञ्चालक पक्राउ परेसँगै सहकारी तथा मार्टहरूमा ताला लगाइ सम्पूर्ण चल अचल सम्पत्ति सरकारको नियन्त्रणमा रहेका छन् । शिखर अर्गनाइजेशन सिस्टर कम्पनीद्वारा ४२ वटा कम्पनी सञ्चालन गरेको छ । अर्गनाइजेसनले शिव शिखर र तुलसी सहकारी लगायत गोर्खा टी, तुलसी राइस, चिउरा मिल, दालमोठ फ्याक्ट्री, बिस्कुट फ्याक्ट्री जस्ता उद्योग सञ्चालन गरेको हो।
